काठमाडौं, फागुन ११
एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । इलामकी गंगामाया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राहक बन्दै जनही १० लाख रुपैयाँ जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजना गत मंसिर १ देखि तीन महिना सञ्चालन गरेको थियो ।
राई यस योजनाअन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख रुपैयाँ जितेका हुन् । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाएका थिए । गत बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही दुई लाख रुपैयाँ पुरस्कार ग्रहण गरेका छन् । योजनाको ११औं हप्ताअन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही दुई लाख रुपैयाँ जिते भने १२औं हप्ताअन्तर्गत बाराका अरमान देवानले दुई लाख रुपैयाँ जितेका छन् ।
कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजनाअन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहकमध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेका छन् । यसअघि पुस १६ मा सिराहाका जितेन्द्र कुमार कामतीले यस योजनाअन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार १० लाख रुपैयाँ ग्रहण गरिसकेका छन् ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालनमा रहेको थियो । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।