काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीनवटा कम्पनीलाई साधारण सेयर (आईपीओ) जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो ।
बोर्डका अनुसार सिक्लेस हाइड्रोपावरलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २० करोड रुपैयाँबराबरको २० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकरूपमा बैंक अफ क्यापिटल लिमिटेड रहेको छ । यसैगरी धौलागिरी लघुवित्तलाई पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ३१ लाख रुपैयाँबराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार अभियान लघुवित्तलाई पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो । उक्त संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।