काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’मा उनले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन नयाँ व्यवस्था गरिने बताएका हुन् ।
यस्तै उनले वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न खर्च भएको यथार्थ प्रस्तुत गर्दै विप्रेषणको सही सदुपयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । यसैगरी उनले अन्तर्राष्ट्रिय श्रम गन्तव्य बजार क्रमशः खोल्दै त्यसलाई सुरक्षित र व्यवस्थित गरिने बताए । नयाँ श्रम बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उनको भनाइ थियो ।
कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई भरपर्दो, मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकारको तर्फबाट अधिकतम प्रयास गरिरहेको र सरोकारवालाको भूमिका पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । आर्थिक वर्ष २०७८/७९ मा मात्रै कुल छ लाख श्रमिक रोजगारीको खोजीमा विदेशिएको उनले जानकारी दिए । साथै हालसम्म ४६ लाख श्रमिकले श्रम स्वीकृति लिएको उनको भनाइ थियो । वैधानिक मार्गबाट विप्रेषण भित्र्याउनका लागि सरकारले धेरै काम गरिसकेको जानकारी दिँदै सचिव अर्यालले लगानी गर्दा छुट दिने तथा ब्याज बढी दिनेलगायत प्रक्रिया अगाडि बढिसकेको बताए ।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले नेपालको समृद्धिका लागि वैदेशिक रोजगारीमा रहेका श्रमिकको ज्ञान, सीप र क्षमता सदुपयोग गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको बताए । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने तयारीका साथ कोष अगाडि बढेको बताए ।
कार्यक्रममा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सामाजिक सुरक्षाका कार्यक्रममा जोड्नका लागि ‘पाइलटिङ’ गरेर काम गर्न आग्रह गरे । गैरआवासीय संघ र सामाजिक सुरक्षा कोषबीच त्यस अवसरमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ उक्त हस्ताक्षर भएको हो । कोषका कार्यकारी निर्देशक ज्ञवाली र संघका तर्फबाट कुल आचार्य र बद्री केसीले हस्ताक्षर गरेका छन् ।