काठमाडौं । पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई परिमार्जित गरी नयाँ स्वरूपमा तयार गरेको हो ।
कोष सञ्चालक परिषद्ले तयार पारेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रूप दिन मन्त्रालयले २०७७ कात्तिक २० गते प्राविधिक समिति गठन गरेको थियो । उक्त समितिले गुरुयोजना तयार गरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो । गुरुयोजनामा १५ वर्षको समयसीमा तोकिएको छ भने कार्यान्वयनका चार चरण तोकिएको छन् । पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधनाभूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाले राखेको छ ।
आठवटा परिच्छेदमा रहेको गुरुयोजनामा पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापनको वर्तमान अवस्था र चुनौती, गुरुयोजनाको सोच, लक्ष्य, उद्देश्य र रणनीति तथा पशुपति क्षेत्रको क्षेत्रगत विभाजन, प्रस्तावित कार्यक्रम, आर्थिक स्रोत साधन तथा गुरुयोजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन समावेश गरिएको छ । धर्मको रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको छ ।
मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने बताए । पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा. सुदर्शनराज तिवारी, संरचनाविद् प्रा. प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाइ जे, संरक्षणविद् भीम नेपाल, स्थानीय बासिन्दा आशाराम संगत रहेको गुरुयोजना तयारी प्राविधिक समिति गठन गरिएको थियो । गुरुयोजना पूर्वाधार निर्माणमा नभई संरक्षणमा आधारित रहेको संयोजक अधिकारीले बताए ।
पशुपति क्षेत्रको विशिष्टता र संवेदनशीलतालाई ध्यान दिएर यसको संरक्षण गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको उनको भनाइ छ । गुरुयोजनामा सम्पदा संरक्षणका लागि कार्यविधि, सम्पदास्थल तथा भूततत्वको संरक्षण, सांस्कृतिक कला वस्तुको संरक्षणका साथै अमूर्त सम्पदालाई जोगाउन कार्यविधि बनाइएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिइएको अधिकारीले बताए । समितिले पशुपति क्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षको मनन गरी सरोकार भएका निकाय र स्थानीयवासीसँग छलफल गरेको थियो । सरोकारवालाको सुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिइएको हो ।