काठमाडौं । जबर्जस्ती करणीको आरोपमा काठमाडौंको पुतलीसडकस्थित पथ फाइन्डर इन्टरनेशनल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेश्वर धिताल पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त मालिगाउँका प्रमुख डीएसपी मिन बहादुर कुँवरका अनुसार एक युवतीले दिएको जबर्जस्ती करणीसम्बन्धी जाहेरीका आधारमा ४१ वर्षीय धिताल पक्राउ परेका हुन् ।
पीडित युवतीको भनाइलाई उद्धृत गर्दै वृत्त प्रमुख कुँवरले भने, ‘घटना यही असार ३० गते राति १२ बजेपछि अर्थात् यही असार ३१ गते बिहानको हो । पीडित युवतीले आफूलाई धितालले काठमाडौंको तिरुपति होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिइन् । वृत्त प्रमुख कुँवरका अनुसार घटना असार ३१ गतेको भए पनि पीडित युवतीले साउन ३ गते जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई आधार मानेर प्रहरीले ती कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत धिताललाई साउन ४ गते बुधबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको वृत्त प्रमुख कुँवरले जानकारी दिए ।
वृत्त प्रमुख कुँवरका अनुसार पक्राउ परेका धिताल तनहुँ जिल्लाको भानु नगरपालिका वडा ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ बस्दै आएका छन् । पक्राउ परेका धितालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बुधबार अनुसन्धानको लागि पाँच दिन म्याद थप भएको वृत्त प्रमुख कुँवरले जानकारी दिएका छन् ।
यता पीडित युवतीका आफन्तले भने जाहेरी फिर्ता लिनको आर्थिक एवं अन्य प्रलोभन देखाएर पीडकका आफन्तहरुबाट निरन्तर धम्की र दबाब आइरहेको बताएका छन् । पीडित युवती हाल आफन्तकै संरक्षणमा बस्दै आएको पीडित युवतीका आफन्तले बताएका छन् ।