काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा शनिबार भएको भेटमा उनीहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।
मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सदीयौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुवै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताए । मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाइ प्रवेश विन्दु उपलब्ध गराउन राजदूत श्रीवास्तवसँग प्रस्ताव गरे । नयाँ हवाइ प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाइ ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । राजदूत श्रीवास्तवले नयाँ हवाइ प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाए ।
भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई जोड्ने रामायण सर्किटसम्बन्धी पूर्वाधार निर्माणअघि बढाउनेबारे पनि उनीहरुबीच छलफल भएको थियो । रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकाससम्बन्धी परियोजना अघि बढाउनेबारे पनि उनीहरुबीच छलफल भयो ।
भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको अवस्थाबारे पनि उनीहरुरुबीच कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिएको बताउँदै नेपालमा भारतीय पर्यटकहरुको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्द्धनात्मक कार्यक्रमबारे पनि राजदूत श्रीवास्तवसँग छलफल गरेका थिए ।