कठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नबिल बैंकबीच सहवित्तीकरण सम्झौता भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइ तथा नबिल बैंकको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा एक सय शय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माणा तथा सञ्चालन गर्न दुई अर्ब ५४ करोडसम्मको कर्जा सुविधाहरू स्वीकृत गरी बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।
उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेडले एक अर्बसम्म लगानी गर्नेछ । बिहीबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ, नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसहित बैंकहरूका कर्मचारीहरू र परियोजनाको तर्फबाट अध्यक्ष श्रीकमल भण्डारी लगायत अन्य पदाधिकारीहरूकोे उपस्थिति रहेको थियो ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहित भएको र परियोजना निर्माणकार्य समयमै सम्पन्न गरी व्यवसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्टीकृत योगदान पु-याउने अपेक्षा गरिएको छ ।