काठमाडौँ । यस साता सेयर बजार परिसूचक दुई हजार १७ दशमलव ४६ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८६ दशमलव २४ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २५ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ६६ हजार सात सय ५५ पटकको कारोबारमा दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम नौ अर्ब ५५ करोड ४६ लाख ८० हजार नौ सय ९६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही करोड रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । उक्त साता एक लाख ६९ हजार चार सय ५७ पटकको कारोबारमा दुई करोड ७३ लाख ३१ हजार सात कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबारकक्ष छ कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो कार्यदिन सेयर बजार परिसूचक लगातार उकालो लागेको थियो भने पाँचौँ र छैटौँ कार्यदिन ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक एक दशमलव ९३ अंकले उकालो लागेर दुई हजार ११ दशमलव ३९ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शुन्य दुई अंकले उकालो लागेर तीन सय ८५ दशमलव ९३ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक १८ दशमलव तीन अंकले उकालो लागेर दुई हजार २९ दशमलव ४३ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंंकले उकालो लागेर तीन सय ८८ दशमलव ७६ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक १६ दशमलव २७ अंकले उकालो लागेर दुई हजार ४५ दशमलव ६९ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंंकले उकालो लागेर तीन सय ९१ दशमलव ५३ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक पुनः चार दशमलव ८९ अंकले उकालो लागेर दुई हजार ५० दशमलव ५९ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९७ विन्दुले उकालो लागेर तीन सय ९२ दशमलव ५० विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८६ विन्दुले ओरालो लागेर तीन सय ८३ दशमलव १४ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक २७ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव चार अंंकले ओरालो लागेर तीन सय ८६ दशमलव २४ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।