काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्नेगरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले साउन १ गतेदेखि सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शोको तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगित गरेको हो । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चारपांग्रे सवारीसाधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।
सरकारले भदौ १४ गतेबाट सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि दशैँअगाडि अटो शो गर्न नसक्ने भएकोले अटो शो स्थगन गर्ने निर्णय गरिएको नाडाले जनाएको छ । नाडाका अनुसार सवारीसाधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउन मात्र डेढ महिना लाग्छ भने अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गर्छ ।