चीनले राइड हेलिङ कम्पनी दिदीलाई आठ अर्ब दुई करोड ६० लाख युआन अर्थात् एक अर्ब २० करोड अमेरिकी डलर जरिवाना गरेको छ । साइबर सुरक्षा कानुनको उल्लंघन गरेको आरोप लगाउँदै चीनले उक्त जरिवाना गरेको बताइएको छ ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी)ले कम्पनीविरुद्ध तात्विक प्रमाण भेटेको दाबी गरेको छ । उक्त नियामकीय निकायले कम्पनीले अमेरिकामा सेयर जारी गरेको केही दिनमै दिदीविरुद्ध गत वर्ष अनुसन्धान थालेको थियो । त्यसयता न्युयोर्क स्टक एक्सचेन्जमा दिदीको सेयर कारोबार रोकिएको छ । सीएसीले दिदीका विश्व प्रमुख र प्रमुख कार्यकारी चेङ वेई र अध्यक्ष लिउ क्विङविरुद्ध दशौँ लाख डलर जरिवाना गरेको पनि बताएको छ ।
यसको प्रतिक्रियामा दिदीले जरिवानामा मञ्जुरी जनाउँदै गहिराइमा पुगेर आफ्नो परीक्षण गर्ने बताएको छ । गत वर्ष जुन महिनामा दिदी अमेरिकी सेयरबजारमा प्रवेश गरेको थियो । त्यसको केही दिनमै बेइजिङले विदेशमा सूचीकृत भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । डिसेम्बर महिनामा दिदीले अमेरिकी सेयरबजारबाट बाहिरिने योजना सार्वजनिक गरेको थियो । बरु हङकङको सेयरबजारमा प्रवेश गर्ने बताएको थियो । यो कम्पनी चिनियाँ सरकारको मुख्य निशानामा पर्दै आएको छ ।