काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न नवौँ महाधिवेशनले ट्रेड युनियन अधिकारसम्बन्धी मुद्दालाई जबर्जस्ती रुपमा ब्युँताएर शिव लम्सालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
२०५२ सालमा पाल्पामा सम्पन्न युनियनको दोस्रो महाधिवेशनले पत्रकाहरुको ट्रेड युनियनसम्बन्धी अधिकार अपहरण गरेको थियो र युनियनका अध्यक्ष हरि अधिकारीलाई बस्न नसक्ने अवस्था बनाएर ट्रेड युनियन अधिकारका विरोधीहरुले युनियनको नेतृत्व कब्जा गरेका थिए । त्यसपछिका प्रयास असफल हुँदै आएका थिए । इटहरीमा २०६७ सालमा भएको सातौँ पाल्पा महाधिवेशनमा अपहरण भएको ट्रेड युनियन अधिकार फर्काउने प्रयास भएको थियो तर नेपाली कांग्रेसको नेतृत्वले हस्तक्षेप गरी टीके नेतृत्व थोपरेको थियो । त्यसपछि त त्यही टीके नेतृत्वको आडमा प्रेस युनियनको ट्रेड युनियन अधिकारवादीहरुलाई एकपछि अर्कोलाई तेजोवध गर्दै पाखा लगाएर युनियन कब्जा गर्ने शैलीमा अघि बढेको थियो ।
युनियनको नवौँ महाधिवेशनमा हेटौंडा पुग्दा युनियनका पुराना तथा ट्रेड युनियनवादी नेताहरुमध्येका प्रायःजसो नेता कोही पनि सहभागी थिएनन् । आस्था र विश्वास गुमाएका, परिचय छाडेर पैसाका पछि लागेका, पत्रकारिताको नाम भजाएर फाइदा लिन पल्केका, प्रजातान्त्रिक आन्दोलनमा खासै भूमिका नभएका तर प्रजातन्त्र आएपछि सत्ताका आडमा हालीमुहाली जमाउँदै आएका व्यक्तिहरुको दबदबा रहेको नवौँ महाधिवेशनमा २७ वर्षपछि प्रतिनिधिहरुले छापामार शैलीमा चाकडी र चाप्लुसीमा टिकेको गैरपत्रकारको नेतृत्वलाई मात्र विस्थापित गरेनन्, पेन्सनरहरुको नेतृत्वलाई पनि स्वीकार गरेनन् र पटक–पटकको प्रयासपछि श्रमजीवी पत्रकार लम्सालको नेतृत्वलाई निर्वाचित गरेका छन् ।