काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८–०७९ मा पाँच अर्ब २० करोड रुपैैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो । आर्थिक वर्ष २०७७–०७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी नौँ दशमलव २७ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५ दशमलव शून्य चार प्रतिशत र सञ्चालन मुनाफा २६ दशमलव ९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा कूल दुई खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने दुई खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रूपमा वृद्धि भएको छ । बैंकको कूल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७ दशमलव ५२ प्रतिशतले बढेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा दुई रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ । त्यसैगरी जगेडा कोष २० दशमलव ४२ प्रतिशतले बढेको छ । बैंकले आफ्नो खराब खर्जामा पनि सुधार ल्याएको छ । अघिल्लो आर्थिक वर्ष एक दशमलव ४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर एक दशमलव २२ प्रतिशतमा झरेको छ । मुलुकका सतहत्तरै जिल्लामा दुई सय ८९ वटा शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ६२ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ७५ भन्दा बढी सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।
ग्लोबल आईएमई बैंकको ‘चक्रवर्ती मुद्दती निक्षेप योजना’
ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने ‘ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरूको चाहनाबमोजिम सोभन्दा अझ बढी हुनेछ ।
यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दरअनुसार लागू हुनेछ । यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पु¥याउने बैंकको विश्वास रहेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरू सार्वजनिक गर्दै ग्राहकहरूलाई उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।