काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लि.को प्रांगणमा एटीएम सञ्चालनमा ल्याएको छ । यही साउन नौ गते सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लि.का सञ्चालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटीएमको समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेललगायतको उपस्थिति रहेको थियो ।
नेपालभर दुई सय १९ वटा शाखाहरू, एक सय ८३ वटा एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।