मनिला । फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७।१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
स्थानीय समयानुसार राति १२ः४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो । भूकम्पका कारण पाँच जनाको मृत्यु भएको बताइएको छ । अरु दर्जन बढी घाइते हुन पुगेका छन् ।
भौतिक पूर्वाधारमा धेरै क्षति भएको बताइएको छ । अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचनाहरु भत्किएका छन् । भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको छ ।
राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उनको सचिवालयले जनाएको छ । रासस/एएनआई