काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक हजार छ सय १० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक युसुफ हारुन छन् । बुधबार दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएको विमानमा आएका उनको गतिविधि शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उक्त सुन फेला पारेको वरिष्ठ प्रहरी उपरीक्षक दीपेन्द्र घर्तीले बताए ।
विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा प्लाष्टिकभित्र अर्धठोस सुनको दुई पोका (अन्दाजी तौल एक हजार छ सय १० ग्राम) लुकाइछिपाइ गरी भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।