दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका स्थानीय बजारहरूमा सोलारबत्ती जडान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा मैनापोखरी, नाम्दु, लहरेमाने, बुद्ध चोक, पुतलीकाठलगायतका ग्रामीण बजारमा २४सै घण्टा बाल्न सकिने सोलारबत्ती जडान गरिएको हो ।
गाउँपालिकाले पहिलो चरणमा भिडभाड र किनबेच बढी हुने स्थानीय बजार र गाउँपालिकाको मुख्य कार्यालयमा सोलार लाइट जडान गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बताए । पछिल्लो समय मौसम खराबीले विद्युत् धेरै अवरोध हुने गरेकोले रातको समय किनमेल गर्न सहज बनाउन र बजारमा हुने नकारात्मक गतिविधि रोक्न सोलारबत्ती राखिएको अध्यक्ष लामाको भनाइ छ । यसरी पालिकाभित्रका ग्रामीण साना बजारमा सोलारबत्ती राख्ने बैतेश्वर गाउँपालिका जिल्लाको पहिलो स्थानीय तह समेत हो ।
गाउँपालिकाले आगामी वर्षहरूमा मुख्य–मुख्य बजारमा सीसीक्यामेरा जडान गर्ने समेत योजना बनाएको छ । ग्रामीण सहर बजारमा पहिलो पटक सोलारबत्ती राखिएपछि बैतेश्वरका स्थानीय व्यापारीमा खुसियाली छाएको स्थानीय व्यवसायी किरण तामाङले बताए । गाउँपालिकाले आगामी वर्षहरूमा पनि केही दातृ निकायसँग सहकार्य गरेर बाँकी रहेका अन्य स–साना बजार चोकमा पनि सोलारबत्ती जडान गर्ने योजना बनाएको छ ।
बैतेश्वर गाउँपालिकाले स्थानीय बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन चालू वर्षमा बजेट नै विनियोजन गरेको छ । गाउँपालिकाले पालिकाकै दोस्रो ठूलो स्थानीय बजार लहरेमाने चोकलाई थप व्यवस्थित गर्ने १५ लाख बजेट विनियोजन गरेको जनाएको छ । लहरेमाने बजारको चोक ढलान गर्न पालिकाले उक्त रकम विनियोजन गरेको गाउँपालिका योजना अधिकृत रविन्द्र चौलागाईंले जानकारी दिए ।