काठमाडौैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० को मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्ति प्रक्रियामा सेयर कारोबार रोक्का नहुने नीति ल्याएसँगै सेयर कारोबारसँग प्रत्यक्ष जोडिएको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्कासम्बन्धी कार्यविधि ल्याउने भएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कारोबार रोक्ने वा नरोक्नेसम्बन्धी व्यवस्था धितोपत्र बोर्डको नियमअनुसार हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सोहीअनुसार बोर्डले चालू आर्थिक वर्षको लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेयर कारोबार रोक्का, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने, दोस्रो बजार पूर्णरूपमा विद्युतीय बनाउनेलगायतका योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको कार्यविधि बनाउन लागेको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । आफू जहिले पनि मर्जर तथा प्राप्तिको लागि लामो समयसम्म सेयर कारोबार रोक्का गर्न नहुने पक्षमा रहेको र सोहीअनुसार चालूआवको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले सोही कुरा उल्लेख गरी सुझाव दिएको उनले बताए । ‘अहिले भने राष्ट्र बैंकले सोहीअनुसार नीति ल्याएको र त्यसलाई कसरी कार्यान्यवनमा ल्याउने भन्ने निर्णय गर्ने अधिकार बोर्डलाई दिएको छ । सोहीअनुसार बोर्डको मर्जर तथा प्राप्तिको लागि सेयर कारोबार रोक्नेसम्बन्धी कार्यविधि बनाउन लागेको हो’, अध्यक्ष हमालले भने, ‘सम्भवतः सेयर कारोबार रोक्कासम्बन्धी नयाँ व्यवस्था आगामी १० दिनभित्र सार्वजनिक गर्छौँ ।’