काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह ! अलैँची’ अभियान शुभारम्भ गरेको छ । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार यो अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ । बेलायतको रियालिटी कुकरी टिभी शृंखला विविसी मास्टर चिफ : द प्रोफेसनल रिम्याचका विजेता, शेफ सन्तोष शाह, यस ‘वाह ! अलैँची’ अभियानको ब्रान्ड एम्बेसेडर रहेका छन् । उनले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्ने महासंघले जनाएको छ । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।
महासंघका अनुसार नेपालमा विश्वबजारको छ हजार छ सय मेट्रिक टन अलैँची उत्पादन हुन्छ, जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत हो । तर, नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारतलगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ । सन् २०२१ मा सुकमेलको आयात पाँच सय ६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैँचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो । त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको एक सय रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्ममा खुद्रा बिक्री हुने नेपाली अलैँचीको मूल्यको तुलनामा अहिले एक सय ग्रामको सुकमेलको चार सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म बढी मूल्य तिरिरहेका छन् ।