काठमाडौं । एक अर्ब ५० करोडभन्दा बढीको सम्पत्ति १८ करोडको ऋणमा एनआईसी एसिया बैंकले विधि र प्रक्रिया पु-याएको नाममा आफ्नो एकलौटी बनाएपछि पीडितहरुले पैसाको आडमा बैंकले अदालत, अख्तियार र प्रहरी प्रशासन किनेर जालसाजीमा आफ्नो बनाएको आरोप लगाएका छन् ।
सोमबार बहुल राष्ट्र मोर्चा मगरात संघर्ष समितिले काठमाडौंमा गरेको एक कार्यक्रममा समितिका संयोजक समेत रहेका राम मगरले सो आरोप लगाएका हुन् ।
सुधीर बस्नेतले सञ्चालन गरेको ओरेन्टल सहकारीमा निक्षेप जम्मा गरेका सर्वसाधारणहरुलाई निक्षेप फिर्ता गर्न चाहिने सम्पत्ति एनआईसी एसिया बैंक एक्लैले आफूले प्रवाह गरेको ऋणको धितो भन्दै आफ्नो नाममा लगेपछि उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
‘बैंक भनेको विधि र प्रक्रिया मिलाएर सर्वसाधारणको सम्पत्ति ठग्ने संस्था भयो’, कार्यक्रममा संयोजक मगरले भने, ‘आम जनताको पैसा खाएर माफियाको रुपमा अगाडि बढेको बैंकको गलत कार्यविरुद्ध अदालतमा मुद्दा हाल्दा समेत सुनुवाइ नभई तामेलीमा मुद्दा रहनु दुःखद कुरा हो ।’ उनले देशको अर्थतन्त्र नै बैंकहरुको हातमा गएको र एनआईसी एसिया बैंकजस्तो संस्थाले गर्दा देशको अर्थतन्त्र नै धरापमा परेको बताए ।
१८ करोड ऋण उठाएको नाममा अर्बौँ मूल्य पर्ने काठमाडौंको धापासीमा ओरेन्टल सहकारीको नाममा रहेको २५ रोपनी जग्गा आफ्नो नाममा ल्याएर बैंकले बाउन्सरहरु समेत राखी विभिन्न कामहरु गर्दै आएको छ ।
बैंकले अदालतमा विचाराधीन मुद्दालाई समेत व्यवस्था गर्नुले कतै यो मुद्दामा न्यायाधीशहरुले बैंकलाई ग्रिन सिग्नल त दिएका हैनन् भन्ने प्रश्न जन्माएको छ । पीडित संघर्ष समितिका संयोजक मगरले भने, ‘ठूलो संख्याका जनताहरु ठगीमा पर्दा समेत जनताका लागि बफादार हुनुपर्ने, कानुन नीति र नियममा चल्नुपर्ने अदालत, अख्तियार र प्रशासन एउटा बैंकको पक्षमा खुलेरै लाग्नु दुःखद कुरा हो ।’
न्यायालयसँग स्वतन्त्र न्यायको अपेक्षा गरिएको, अख्तियारसँग स्वतन्त्र छानबिनको अपेक्षा गरिएको र सरकारी संयन्त्रहरुबाट समेत जनताको पक्षमा कामकारबाही हुने अपेक्षा गरिएको भन्दै पीडितहरुले यी संस्थाहरु प्रलोभनमा परी एनआईसी एसिया बैंकबाट परिचालित हुन्छन् भने यिनीहरुको विरुद्धमा समेत ठूलो मात्रामा आमजनता उठ्ने बताए ।
न्यायालय समेत पछिल्लो समय विवादमा पर्दै आएको छ । एनआईसी एसिया बैंक पीडित रहेको बताउने राजु थापाले भने, ‘कति दुःख पाएका सर्वसाधारणहरुको मुद्दा वर्षौँसम्म विचाराधीन छ तर बैंकसँगको सेटिङमा सर्वोच्च अदालतले मेरो मुद्दाको पेशी प्रत्येक हप्ता तोक्दै सबै सम्पत्ति खाइदियो ।’
न्यायालयसँग सर्वसाधारणको विश्वास त्यसै नघटेको बताउने उनले न्याय पाउने अन्तिम थलो सर्वोच्च अदालत नै एउटा ठग बैंकसँग मिलेर सेटिङमा लागेको बताए । ‘यस किसिमको कार्य गरिन्छ भने हामीले अब कहाँ गएर न्याय माग्ने ?’, उनको प्रश्न छ ।
सरकारी कर्मचारी मात्र नभएर बैंकले नेताहरु समेत सबैलाई किनिसकेकोले यस बैंकको गुण्डागर्दीमा कुनै पनि दलका नेताहरु नबोलेको उनीहरुको आरोप छ ।
समितिले बैंक पनि ठग पनि, नराम्रो पनि खराब पनि भन्ने नाराका साथ सञ्चालित एनआईसी एसिया बैंकले गरेको यस किसिमको ठगी धन्दा नरोके बैंकको केन्द्रीय कार्यालयदेखि सबै शाखाहरुमा तालाबन्दी गर्ने बताएको छ । साथै कानुनी प्रक्रिया पु-याएर गरेको ओरेन्टल सहकारीको सम्पत्ति बैंकसँग लिएको ऋण तिर्ने गरी तत्काल फिर्ता गर्न समेत माग गरिएको छ ।
काठमाडौंको न्युरोडबाट ३२ सहकारी भागे
काठमाडौंको मुख्य व्यापारिक थलो न्युरोडमा खुलेकामध्ये ३२ वटा सहकारी सर्वसाधारणलाई ठगी गरेर भागेका छन् । सहकारीहरुलाई नियमन गर्ने राज्यको चुस्त संयन्त्र नभएको मौका छोपी स्थापना भएका ठूलो संख्याका सहकारीका सञ्चालकहरु जनताले विश्वास गरेर सहकारीमा अर्बौँ बचत गरेपछि सो निक्षेप लिएर भाग्ने गरेका हुन् । पछिल्लो समय सहकारीका सञ्चालकहरु भाग्ने क्रम दिनानुदिन बढेको छ ।
कालोधन र हुन्डीको कारोबार हुने मुख्य व्यापारिक थलो न्युरोडमा मात्रै ठूलो संख्याका सहकारीहरु भागिसकेका छन् । न्युरोडका रहेको मानापाथी बचत तथा ऋण सहकारी, मनसुन बचत तथा ऋण सहकारी, समुन्नत बचत तथा ऋण सहकारी, स्वर्ण पथ बहुउद्देश्यीय सहकारी, न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी, एलपीजी बचत तथा ऋण सहकारी, हलमार्क बचत तथा ऋण सहकारी, चाइना टाउन बचत तथा ऋण सहकारी, तीव्र बचत तथा ऋण सहकारी, सम्यम बचत तथा ऋण सहकारी, पानी टङ्की बचत तथा ऋण सहकारी, सोसाइटी बचत तथा ऋण सहकारी, बिजनेस बचत तथा ऋण सहकारी, सिर्कादेवी बचत तथा ऋण सहकारी, सूर्योदय ज्योति बचत तथा ऋण सहकारी, ओम् बटु बचत तथा ऋण सहकारी, अष्ट मंगल बचत तथा ऋण सहकारीका सञ्चालकहरु सर्वसाधारणहरुको अर्बौँ निक्षेप लिएर भागेका हुन् ।
त्यस्तै स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारी, जनमत बचत तथा ऋण सहकारी, ल्होत्से बचत तथा ऋण सहकारी, उपासी बचत तथा ऋण सहकारी, ए टु जेड बचत तथा ऋण सहकारी, उन्नति बचत तथा ऋण सहकारी, मुस्किलमा सजिलो बचत तथा ऋण सहकारी, आनन्द नगर बचत तथा ऋण सहकारी, सुपर टप बचत तथा ऋण सहकारी, ढुकु पिकु बचत तथा ऋण सहकारी, जनजीविका बचत तथा ऋण सहकारी, अस्मोसिस बचत तथा ऋण सहकारी, महिला चालक मजदुर बचत तथा ऋण सहकारी, जिलेट बचत तथा ऋण सहकारी र किरणोदय बहुउद्देश्यीय सहकारी गरी ३२ वटा सहकारी यसरी भागेका हुन् ।