काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्रतिऋणपत्र अंकित मूल्य एक हजार अंकित दरले कुल एक अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्यबराबरको दशवर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्रमध्ये ६० करोड रकमबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोडबराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरूमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।