काठमाडौं । नेपाल इको प्यानलले आईएसओ लिनका लागि प्रक्रिया अघि वढाएको छ । एकैपटक तीनवटा आईएसओ लिन कम्पनीले प्रक्रिया अघि बढाएको हो । यसका लागि कम्पनीले सफ्टटेक सीआई प्रालिसँग सम्झौता गरेको छ ।
गुणस्तरीय उत्पादन गर्न गुणस्तरीय व्यवस्थापन प्रणालीमा सुधार, वातावरणमैत्री तवरमा उत्पादन तथा व्यावसायिक सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकमा सुव्यवस्था गर्न प्रक्रिया अघि बढाएको जनाएको छ । आईएसओ ९००१ः२०१५ (क्युएमएस), आईएसओ १४००१ः२०१५ (ईएचएस) र आईएसओ ४५००१:२०१८ (ओएचएस) को लागि प्रक्रिया अगाडि बढाउन सम्झौता भएको हो ।
सम्झौतामा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल र सफ्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दन घिमिरेले हस्ताक्षर गरेका छन् । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यवस्थापन प्रणाली) लागू गर्न दुई पक्षबीच सम्झौता भएको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर दुवालले कम्पनीको गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१ः२०१५ (क्युएमएस), वातावरण, स्वास्थ्य तथा सुरक्षाका लागि आईएसओ १४००१ः२०१५ (ईएचएस) र पेशागत स्वास्थ्य सुरक्षाका लागि आईएसओ ४५००१:२०१५ (ओएचएस) लिन प्रक्रिया अघि बढाएको जानकारी दिए ।
इको प्यानल नेपाल प्रालि प्रारम्भदेखि नै गुणस्तरीय उत्पादनमा प्रतिबद्ध भएर वातावरणमैत्री तवरमा उत्पादन थाल्दै आएको छ । साथै आफना कर्मचारीहरुको व्यावसायिक जीउधनको सुरक्षा र कार्यस्थलमा कुनै पनि दुर्घटना नहोस् भन्नका लागि यी अन्तर्राष्ट्रिय आईएसओहरु लिएर अघि बढ्न लागेको जनाएको छ । नेपाल इको प्यानलले यी मानकहरु आफनो कारखानाभित्र राम्रो लागू गर्नका लागि सफ्टेक सीआईसँग सम्झौता गरेको हो । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री हो ।