काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आव २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा पाँच अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपैया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो ।
आव २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी नौ अर्ब ६७ करोड (गत वर्ष आठ अर्ब २४ करोड), कुल सञ्चालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष नौ अर्ब ७६ करोड), सञ्चालन नाफा सात अर्ब एक करोड (गत वर्ष पाँच अर्ब नौ करोड), कुल समग्र आम्दानी तीन अर्ब आठ करोड (गत वर्ष छ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा तीन अर्ब ३ करोड रहेको छ ।
२०७९ आसार मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा एक दशमलव ८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आव २०७८/७९ मा बैैंंकको सेयरधनी कोष चार अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपैयाँले वृद्धि भई तीन खर्ब २९ अर्ब पुगेको छ ।
२०७९ असार मसान्तसम्ममा पुँजी कोष अनुपात १३ दशमलव ९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५ दशमलव ८९ प्रतिशत, आधार दर सात दशमलव ६३ प्रतिशत, ब्याजदर अन्तर चार दशमलव २९ प्रतिशत, कोषको लागत दर छ दशमलव शून्य एक प्रतिशत तथा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ ।
आव २०७८/७९ को चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, सेयरधनी कोष, कर्जाको गुणस्तरलगायत समग्र व्यावसायिक नतिजाहरूमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकांकहरू परिपालना गर्न तथा प्रमुख परिसूचकहरूमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।