सुरेश राउत
काठमाडौं, फागुन १३
रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा बैंकहरुको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट क्षेत्रमा मात्र कुुल एक खर्ब ६१ अर्ब १२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनअनुुसार सञ्चालनमा रहेका २७ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले यही पुस मसान्तसम्ममा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख र ३१ खर्ब ६१ अर्ब ३५ करोड १० लाख रुपैयाँ रहेको छ ।
चालू आवको पछिल्लो छ महिनामा वाणिज्य बैंकहरुले मात्र कुुल ३० खर्ब ६२ अर्ब २१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ३५ अर्ब २९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब ३३ अर्ब ९९ करोड ६० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी विकास बैंकहरुले पनि यस अवधिमा चार खर्ब १६ अर्ब आठ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५५ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम १९ अर्ब ९१ करोड १२ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्सहरुले भने चालू आवको पछिल्लो छ महिनामा ८२ अर्ब २४ करोड ४० लाख रुपैयाँ निक्षेप संंकलन गरी ७३ अर्ब ६२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये रियलटेट क्षेत्रमा मात्र फाइनान्स कम्पनीहरुले सात अर्ब २१ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कुुल एक खर्ब ४४ अर्ब २० करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा बैंकिङ क्षेत्रको कुुल निक्षेप ३० खर्ब ६६ अर्ब एक करोड ७६ लाख १० हजार रुपैयाँ रहेको थियो भने कुुल कर्जा रकम २७ खर्ब ३९ अर्ब ७७ करोड ५६ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र २६ खर्ब ५६ अर्ब ९३ करोड ६५ लाख ३० रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ७३ अर्ब २४ करोड ८८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब १७ अर्ब ५६ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी विकास बैंकहरुले पनि गत आवको छ महिनामा तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब तीन अर्ब ५३ करोड ३७ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त कर्जामध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम २० अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले भने गत आवको छ महिनामा ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९९ करोड ३० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त कर्जामध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कुुल कर्जा रकम छ अर्ब ८९ करोड ५४ लाख ३० हजार रुपैयाँ रहेको थियो ।