काठमाडौं, फागुन १३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेका छन् । नेम्वाङले सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् । तत्कालीन सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय नेतृत्वविहीन बनेको थियो ।
समाजवादी पार्टी नेपालबाट मन्त्री बनेका राईले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका थिए । उक्त स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ८ गते मन्त्री नेम्वाङलाई थप जिम्मेवारी तोकेकी थिइन् । पदभार ग्रहण गर्दै उनले मातहतका निकायलाई प्रतिबद्ध, लगनशील, इमानदार र जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङले पदभारसँगै वाग्मती एकीकृत सभ्यतासँग जोडिएका विषयलाई विधेयक निर्माणका लागि अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने फाइलमा हस्ताक्षर गरेर कामको सुरुवात गरेका छन् । उनले हामीले नगरे कसले गर्ने भन्ने भावना राखेर काम गर्न मातहतका निकायलाई निर्देशन समेत दिए ।
‘हामीले यति भावना राखेर काम ग-यौं भने नेपाली जनताले राखेको विकास र समृद्धिको चाहना पूरा हुन्छ’, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले छोटो समयमै आफ्नो व्यवस्था परिवर्तन गरी आलोचना खेपिरहेका मन्त्रालयलाई आलोचनामुक्त गराएर अगाडि बढेको र त्यो सीप लगनशीलता सहरी विकास मन्त्रालयमा पनि प्रतिविम्बित हुने विश्वास व्यक्त गरे ।