काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको यही असार सात गतेको एक सय २०औँ बैठकको निर्णय भएबमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीका अनुसार श्रेष्ठलाई यही साउन २३ गतेदेखि नै लागू हुनेगरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको हो । श्रेष्ठ विगत २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका श्रेष्ठको नेतृत्वमा करिब सात वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आर्ईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरू, बीमा समिति, कम्पनीको सञ्चालक समितिका अध्यक्षलगायत सञ्चालकहरू, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरूलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरूलाई धन्यवाद व्यक्त गरे ।