जनकपुरधाम, फागुन १३
सशस्त्र प्रहरी धनुषाले भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको चाँदी बरामद गरेको छ । सशस्त्र प्रहरी बल वीओपी देवडिहाबाट खटिएको टोलीले सोमबार धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका दिलीपकुमार साहलाई चाँदीको गहनासहित पक्राउ गरेको हो । भारतबाट जनकपुर आउदै गरेका साहले गम्छामा लुकाएर करिब एक लाख २४ हजार ९० रूपैयाँबराबरको ३ किजी चार सय ४० ग्राम चाँदीको गहना लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।
प्रहरीले साहसँग साइकल, मोबाइल, नेपाली दुई हजार तथा भारतीय मुद्रा आठ सय ९० रूपैयाँसमेत बरामद गरेको जनाएको छ । त्यस्तै आइतबार पनि जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर खटिएको पाँच जनाको टोलीले विभिन्न प्रकारका सामानहरू बरामद गरेको छ । ज ४ प ९१४० नम्बरको मोटरसाइकलमा भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको तीन लाख पाँच सय ८० रूपैयाँबराबरको लताकपडा, चार लाख २० हजार पाँच सय ८० रूपैयाँबराबरको जुता बरामद गरिएको प्रहरीले जनाएको छ ।