काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर निर्वाचन आयोगले मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी–विरोधको प्रक्रिया सुरु गर्ने भएको छ ।
आयोगका अनुसार आगामी भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोधसमेत)को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ । उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ । नामावली अद्यावधिक कार्यका लागि आयोगले इमेल, फ्याक्स तथा अनलाइनबाट समेत निवेदन दिने व्यवस्था छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।