काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरूको पङ्क्तिमा आफूलाई उभ्याएको छ ।
आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफइबाट सन्देश प्राप्त भएअनुसार सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ । लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ । साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पु-याउनेछ । आईएफसीले नेपालमा साना तथा मझौला उद्योगको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहनेछ ।’
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले साना तथा मझौला उद्योग क्षेत्रमा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त गरे । उक्त सम्झौताअनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नेछ ।