काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार रूपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार रूपैयाँ उनको साथबाट बरामद भएको पुष्टि हुनआएको आयोगले जनाएको छ ।
क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्दै आयोगले बिगो ४४ हजार रूपैयाँसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । (आर्थिक दैनिकबाट)