काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी विनियमका केही बुँदाहरुमा संशोधन गर्दै दैनिक रेमिट्यान्स कारोबारको सीमा १५ लाख रुपैयाँसम्म कायम गरेको छ । सोमबार राष्ट्र बैंकले वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र इजाजतपत्रप्राप्त निकायहरुको नाउँमा परिपत्र जारी संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘नेपाली, विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था, शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश, (नागरिक वा फर्म, कम्पनी, संस्था)बाट प्राप्त हुने रकम इजाजतप्राप्त रेमिट्यान्स कम्पनीमार्फत सम्बन्धित बेनिफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख रुपैयाँसम्म (एक पटक वा पटक–पटक गरी) को रेमिट्यान्स रकम भित्र्याउन सकिनेछ । तर यसको लागि इजाजतपत्रप्राप्त रेमिट्यान्स कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरु लिएको हुनुपर्ने र त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिकरुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय विभागमा पेस गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ । यसअघि भने यस्तो कारोबारको लागि दैनिक सीमा १० लाख रुपैयाँसम्म मात्र तोकिएको थियो ।
सोही परिपत्रमार्फत राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रहेर रेमिट्यान्स भित्र्याउन सकिने व्यवस्था कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको छ । आयात तथा निर्यात व्यापारको माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणका सघाउ पुग्ने गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र कर चुक्ता कागजातमा उल्लिखित मूल्यबीच तुलनात्मक विश्लेषण समेत गरी यथार्थपरक देखिएमा सटही सुविधा (ड्राफ्ट, टिटी जारी गर्ने, प्रतीत पत्र खोल्ने, डीएए, डीएपी) उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ ।
परिपत्रअनुसार राष्ट्र बैंकको स्वीकृतिमा एक वर्ष वा सोभन्दा बडी अवधिको विदेशी ऋण भित्र्याएका वाणिज्य बैंकलाई विदेशी विनियम जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको बक्यौता सावाँ तथा ब्याजबराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिदमा कुनै पनि किसिमको सीमा लागू हुनेछैन । यसैबीच राष्ट्र बैंकले सोही दिन सूचना जारी गर्र्दै नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपाल बाहिर बसबोस गर्दै आएका सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुलाई कुनै पनि किसिमको भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, हाइपर फण्ड तथा नेटवर्किङ कारोबार नगर्न, नगराउन निर्देशन दिएको छ । यदि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।