काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्स पी नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।
सिद्धार्थ बैंक स्मार्ट एक्स पीमार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटपजस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवाहरू उपभोग गर्न सक्नेछन् । यी सेवाहरू उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आफ्नो बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरूले एपल एप स्टोर तथा गुगल एप स्टोरबाट सिद्धार्थ बैंकको एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सकिनेछ ।
बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्ट एक्स पीमार्फत ग्राहकहरूले पासवर्ड र पिन बिर्सिएमा आफैंले रिसेट गर्न, नयाँ चेकबुक अनुरोध गर्न, बैंकले दिने सेवासम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न, बैंकका कर्मचारीहरूसँग भेट्ने समय सुनिश्चित गर्न एवं निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्नेछन् । यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यार कोड स्क्यान गरी भुक्तानी पाउनेलगायतका सेवाहरू पनि ग्राहकहरूले उपभोग गर्न सक्नुहुनेछ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरूलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरूमा यस मोबाइल बैंकिङ सेवामा अरु पनि सुविधाहरू थप गरी बैंकिङ सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।
ग्राहकमैत्री प्रविधिहरू भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरूजस्तै अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ९० वटा शाखा (चार वटा एक्सटेन्सन् काउन्टरसहित), एक सय १७ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।