काठमाडौं । धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गए पनि तिनीहरुको शाखा संख्या भने साढे ११ हजार भन्दा माथि पुगेको छ । हालसम्म दुई सय ४४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ असार मसान्तसम्ममा कुुल दुुई सय ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसमध्ये एक सय ७८ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६७ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय २६ वटा कायम भएको छ । सो अनुुरुप २६ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६५ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले भने सात सय ५२ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी आर्थिक वर्ष २०७८/०७९ को विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या एउटा मात्र रहेको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ११ हजार पाँच सय २८ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार नौ, विकास बैंकहरुको एक हजार एक सय १८, फाइनान्स कम्पनीहरुको दुुई सय ६७ र लघुुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ३४ वटा शाखाहरु सञ्चालनमा छन् । यसअघि अर्थात् २०७८ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या १० हजार छ सय ८३ थियो ।