काठमाडौं । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठ वटा टोलले बाजा प्रदर्शनीमा सहभागिता जनाएका हुन् ।
कार्यक्रममा चस्वांद्वँ मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुठी, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सानाःगू खलः न्हूसाः, पाक्व पुखूद्याँ सनाः खलः, भिंद्यः गुठी कालिमाटी र लायकूसाः मानन्धर समाजका कलाकारहरुले आआफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । बाजा प्रस्तुति दिएका कलाकारहरुमध्ये अधिकांश १५ देखि ४० वर्षभित्रका किशोर, किशोरी, युवा तथा महिलाहरु थिए । संघले सांस्कृतिक पहिचानलाई नयाँ पु्स्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताए । सांस्कृतिक सेतुमार्फत समुदायलाई जोड्नुपर्ने सैद्धान्तिक मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्ने मानन्धरको भनाइ थियो ।
वीरगञ्ज पर्सौनीलाई प्रतिनिधित्व गरी केन्द्रीय मानन्धर संघमा सभापति बनेका मनोज कुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, १३ का ध्रुवनारायण मानन्धर, २० का राजेन्द्र मानन्धर, लेखा प्रमुख बुद्धरत्न मानन्धर, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधान, आठ वटै टोलका कजि तथा बाजा गुरुहरुको सहभागिता थियो । कार्यक्रमलाई केन्द्रीय मानन्धर संघको सञ्चार उपसमिति र युवा तथा क्षमता विकास उपसमितिले संयोजन गरेको थियो ।