काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्राडा प्रमोद कुमार झा नियुक्त भएका छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका झा स्नातकोत्तर क्याम्पस विराटनगरमा लामो समय प्राध्यापन क्षेत्रमा संलग्न हुनुको साथै राष्ट्रिय योजना आयोगको परामर्शदाता, विश्व विद्यालय अनुदान आयोगको पूर्वसदस्य र सिर्जना फाइनान्स लिमिटेडको सञ्चालक भई कार्य गरिसकेका छन् ।
गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको यही साउन ३० गते सम्पन्न बैठकबाट स्वतन्त्र सञ्चालक पदमा नियुक्त डा. झा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ को आर्थिक सल्लाहकार, विराटनगर महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ व्यपार संघको समेत आर्थिक सल्लाहकारको रूपमा कार्य गरिसकेका एक अनुभवी अर्थशास्त्रीको रूपमा परिचित छन् ।
गुराँस लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गको प्रदेश स्तरीय लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले हाल १ नं. प्रदेशमा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी घर परिवारलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।