काठमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै वस्तुहरुको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो ।
करिब एक साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आइरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिइन् ।
सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्न गरिएको बताइन् । महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यसअघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ । नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताइन् ।