काठमाडौं । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्दती खातामा बचत गरी ६५ महिनामै डबल हुने ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । विदेशमा गरिएको मिहिनेतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्दती योजना सार्वजनिक गरेको हो ।
व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरी खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट तथा विदेशमा रहेका ग्राहकहरूद्वारा अनलाइनबाटै भिडियो केवाईसी अपडेट गरी सञ्चालनमा ल्याउन सकिनेछ । साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ । यो योजना २०७९ भदौ महिना सम्मको लागि लागू हुनेछ ।
त्यसैगरी, रेमिट्यान्स आम्दानीबाहेकका ग्राहकहरूको लागि पनि ‘ज्योति दुई गुणा डिपोजिट’मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि सञ्चालनमा ल्याइएको छ । ज्योति विकास बैंक ग्राहककेन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरूलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल एक सय १९ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ ।