काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजी तीन खर्ब ५६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८/०७९ सम्ममा कुल तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् ।
यो चुक्ता पुँजीमा सबैभन्दा चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको देखिएको छ भने सबैभन्दा कम सिभिल बैंकको देखिएको छ । ग्लोबल आईएमईले २०७९ असार मसान्तसम्ममा २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा सिभिल बैंकले भने नौ अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । चुक्ता पुँजी बढी हुनेमा नबिल बैंक भने दोस्रो स्थानमा परेको छ ।
नबिलले पछिल्लो अवधिमा नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेर २२ अर्ब ८३ करोड २९ लाख नौ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएको छ । यीबाहेक प्राइम कमर्सियल, कृषि विकास बैंक, एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकले भने २०७९ असार मसान्तसम्ममा क्रमशः १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार, १८ अर्ब ६२ करोड छ लाख २७ हजार, १८ अर्ब ३६ करोड ६७ लाख छ हजार र १८ अर्ब ३० करोड ७४ लाख ७१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । मेगा बैंकले भने पछिल्लो अवधिमा १६ अर्ब १२ करोड चार लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भने पछिल्लो अवधिमा क्रमशः १४ अर्ब ९४ करोड तीन लाख ५९ हजार, १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार, १४ अर्ब ४० करोड ५९ लाख चार हजार र १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यीबाहेकका हिमालयन, प्रभु र सिद्धार्थ बैंकको चुक्ता पुँजी भने क्रमशः १२ अर्ब ९६ करोड, ८७ लाख ५७ हजार र १२ अर्ब ७० करोड ८७ लाख चार हजार, १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार छ ।
एनआईसी एसिया, लक्ष्मी, सानिमा र एनसीसी बैंकको चुक्ता पुँजी भने २०७९ असार मसान्तसम्ममा ११ अर्ब रुपैयाँको हाराहारीमा छ । यसैगरी बैंक अफ काठमाडौं, माछापुच्छ्रे र सनराइज बैंकको चुक्ता पुँजी भने १० अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यस अवधिमा नेपाल एसबीआई, सेञ्चुरी, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड र सिभिलसहितका पाँचवटा बैंकहरुको चुक्ता पुँजी भने नौ अर्ब रुपैयाँको हाराहारीमा छ ।