काठमाडौं । प्रहरीले अवैधरूपमा भन्सार छली गरी ल्याएको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत दिल्लीका ३४ वर्षीय विकाश महाजनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगल गोल्डेन गेटस्थित पार्किङबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । महाजनसँगै प्रहरीले अवैधरूपमा भन्सार छली ल्याएको सात सय ७७ ग्राम सुन पनि बरामद गरेको छ ।
महाजनलगायतका अन्य व्यक्तिहरूले भन्सार छली अवैधरूपमा सुन ल्याई कारोबार गर्न लागेको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा महाजनले सेन्डो र अन्डरवेयरमा पेस्ट गरेको सुन, १९ हजार पाँच सय भारतीय रूपैयाँ र चार सय २० यूएई दिरामसहित उनलाई पक्राउ गरेको हो ।
उनले उक्त सुन दुबईबाट भारततर्फ लैजाने लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सुनसहित उनलाई भन्सार छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।