काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर उपत्यकाका विभिन्न स्थानमा श्रंखलाबद्ध रूपमा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र सोही स्थानका ३१ वर्षीय विष्णु तामाङलाई सोमबार दिँउसो पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उनीहरूलाई १५ लाख रूपैयाँबराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाडौंको टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरूले पीडित व्यक्तिलाई पटक–पटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न स्थानमा बोलाई लाखौँ रूपैयाँ लुटपाट गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका उनीहरूलाई ठगी एवं विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ ।