काठमाडौं । सरकारले आयातमा कडाइ गरेसँगै चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । यस्तै कुल वस्तु निर्यातमा समेत कमी आएको छ ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कुल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ भने कुल वस्तु निर्यात २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँबराबरको वस्तु आयात भएको छ ।
गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रूपैयाँबराबरको वस्तु आयात गरेको थियो । यस्तै नेपालले गत साउन महिनामा १४ अर्ब ८० करोड ९७ लाख रूपैयाँबराबरको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजारबराबरको वस्तु निर्यात गरेको थियो ।
विभागका अनुसार गत साउन महिनामा कुल एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रूपैयाँबराबरको व्यापारघाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाखबराबरको व्यापारघाटा व्यहोरेको थियो । यस्तै गत साउनमा नेपालको कुल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख रूपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा मुलुकले एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाखबराबरको वैदेशिक व्यापार गरेको थियो ।
विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख रूपैयाँबराबरको राजस्व संकलन भएको छ ।