लन्डन । ब्रिटिश एयरवेजले विन्टर सिजन (जाडोका बेला) १० हजार उडान कटौती गर्ने भएको छ । विमान सेवा प्रदायकले छोटो दूरीका उडान यतिको संख्यामा कटौती गर्ने भएको हो । यो भनेको अक्टोबर–मार्चको समयमा हिथ्रो विमानस्थलबाट हुने उडान पर्ने बीबीसीले जनाएको छ । सो समयमा कतिपय लामो दूरीका उडान समेत कटौती हुनसक्ने बताइएको छ । बीएले दर्जन बढी राउन्ड ट्रिप गरी कुल छ सय २९ उडान अक्टोबरको अन्त्यसम्ममा कटौती गर्ने पनि उल्लेख गरेको छ । हिथ्रो बीएको मुख्य उडान हुने क्षेत्र हो । विमान कम्पनी कर्मचारी अभावको समस्या झेलिरहेको छ । विमानस्थल र कम्पनीहरुले कोभिड प्रतिबन्धका बेला कर्मचारीको संख्या कटौती गरेका थिए । अहिले त्यो संख्यामा कर्मचारी राख्न हम्मेहम्मे परिरहेको छ । अहिले कोरोनाको प्रभाव कम भइसकेको अवस्थामा यात्रुहरुको संख्या बढेको छ । सोही कारण उडानको माग उच्च छ । हिथ्रोले अहिले बढ्दो यात्रुको व्यवस्थापन सहज तरिकाले गर्न सकेको छैन । खासगरी लगेज व्यवस्थापनमा समस्या परिरहेको बताइएको छ । उडान कटौती गरे पनि वैकल्पिक उडानको व्यवस्था हुने वा पैसा फिर्ता हुने एयरवेजले जनाएको छ ।