काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।
अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरूले पनि दिइएको कार्यसम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्टमार्फत बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा नौ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ जितेकी छन् ।
नविल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । ‘प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उनलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौँ’, उनले थपे ।
यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुंगानाले भने, ‘हामीले एउटा एप विकास गरेका छौँ जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन् ।’
उनले यस एपले सानै उमेरबाट बालबालिकाहरूमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबिचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।
नबिल बैंकको ‘नबिल ढुक्क मुद्दती खाता

नबिल बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार आकर्षक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याइएको हो । यो खाताअन्तर्गत ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।
यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत नेपालमा प्राप्त रकममा खोल्न सकिने बैंकले बताएको छ । नेपालमा आर्जित रकममा खोलिने यस खातामा पाँच वर्ष तीन महिना २३ दिनमा दुई गुणा, १४ वर्ष सात महिना २८ दिनमा पाँच गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी, विप्रेषणअन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा पाँच वर्ष नौ महिना १५ दिनमा दुई गुणा, १३ वर्ष पाँच महिना ११ दिनमा पाँच गुणा तथा १९ वर्ष दुई महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यस खाताअन्तर्गत ग्राहकले तीन लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन् ।