काठमाडौं । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैधरूपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको व्यवसायीले बेवास्ता गरेपछि महानगरले बुधबारदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो ।
महानगरप्रमुख बालेन्द्र साह आफैँ उपस्थित भएर अनधिकृतरूपमा बनेका संरचनामा डोजर चलाएका हुन् । सुन्धारास्थित काठमाडौं मलको अनधिकृतरूपमा बनाइएको संरचना, न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइएको हो । यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ ।
अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउन्डमा आशंका गरेको हो । नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डर ग्राउन्डबारे महानगरको चासो बढेको हो । नक्सा पासविपरीत तथा अनधिकृत रूपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।
अनधिकृत रूपमा बनाइएको संरचना हटाएसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको थियो ।