काठमाडौं । काठमाडौँ महानगरपालिकाले अवैध रुपमा बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । बुधबार सुन्धारा, न्युरोड र दरबारमार्गमा बनेका अवैध संरचना भत्काएको महानगरले बिहीबार नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएको हो ।
नियमविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अग्रिम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले हटाउन अटेर गरेपछि बिहीबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा डोजरले उक्त संरचना भत्काइएको हो । संरचना हटाए/नहटाएको अवलोकन गर्न बिहीबार बिहान मेयर शाह नयाँ बानेश्वर पुगेका थिए । कम्प्लेक्स अवलोकनमा पुगेका मेयर शाह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच भवनको नक्साको विषयलाई लिएर चर्काचर्की समेत परेको थियो ।
अवैध रुपमा बनाइएका संरचना हटाउन र नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएपछि मेयर शाहले हटाउन आग्रह गरेका थिए । तर कम्प्लेक्सका निर्देशक शर्माले आफूले नक्साङ्कनअनुसार नै संरचना बनाएको तथा भाडा लगाएको जिकिर गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा मेयर शाहले निर्देशक शर्मासँग कम्प्लेक्सको नक्सापास मागेका थिए तर शर्माले उल्टो महानगरमा नै होला भन्ने रुखो जवाफ दिए । शर्माको उक्त जवाफपछि महानगर कार्यालय फर्केका शाहले कम्प्लेक्सको नक्सापास र डोजरसहित गएर नियमविपरीत बनाएका संरचनाहरु भत्काइदिएका हुन् । उक्त संरचना भत्काएपछि मेयर शाहले कम्प्लेक्सका निर्देशक शर्मालाई इंगित गर्दै भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ !’ यस्तै उनले जुन प्रयोजनका लागि नक्सा पास भएको छ सोहीअनुसार मात्रै संरचना निर्माण गर्न आग्रह गरेका छन् । उनले थपे, ‘अब उप्रान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला ।’ अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ ।
यस्तै मेयर शाहले नयाँबानेश्वरस्थित शंखमूल बर्गर हाउसलाई पनि तत्काल खाली गर्न निर्देशन दिएका छन् । पार्किङका लागि निर्माण गरिएका स्थानमा शंखमूलको बर्गर हाउस सञ्चालनमा रहेको छ । तत्काल उक्त संरचना हटाएर नक्सापासअनुरुप पार्किङको व्यवस्था गर्न मेयर शाहले निर्देशन दिएका हुन् । बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि महानगरको टोलीले अवलोकन गरेको थियो । अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको बेवास्ता गरे पनि कामपा ‘एक्सन’मा उत्रिनुपरेको भनाइ छ ।
कीर्तिपुरमा पनि मापदण्डविपरीतका संरचना भत्काउन सुरु
कीर्तिपुर नगरपालिकाले पनि नगरभित्रका मापदण्डविपरीतका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक–पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेको भन्दै नगरपालिकाले बिहीबार अवैध संरचनामा डोजर चलाएको हो । नगरप्रमुख राजकुमार नकर्मीसहितको टोलीले नगरपालिकाको वडा १० मा पर्ने स्थानीय जयबहादुर महर्जनले सार्वजनिक जग्गा मिचेर बनाएको पर्खाल भत्काएको हो ।
नगरपालिकामा गरिएको नक्सापासविपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाले जनाएको छ । महर्जनलाई नगरपालिकाले संरचना मापदण्डविपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिए पनि अटेर गरेका कारण नगरपालिकाले भत्काइदिएको जनाएको छ ।
नियमविपरीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै माग राख्दै आएका थिए । यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य छिट्टै थाल्ने जनाएको छ ।