काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भीषा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको हो ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिशन स्थापना गरेको जानकारी गराएको छ । यसअघि रोमानिया जाने नेपालीहरूले उताबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि भिषा प्राप्तिका लागि आवेदन दिन छिमेकी मुलुक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्थाका कारण धेरै नेपालीहरूको अतिरिक्त समय र पैसा खर्च हुनेगरेको थियो । यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेका रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिशन स्थापना गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरूको भिषा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ ।
रोमानियन मिशनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरूले नेपालमा अस्थायीरूपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भिषा शुल्कबाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउन, वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
साथै, रोमानियन अधिकारीहरूसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएकोले कसैले पनि यस्ता गैरकानुनी क्रियाकलापमा नर्गन मन्त्रालयले आग्रह गरेको छ । कोही यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी त्यस्तो सूचना दिनको लागि समेत पनि मन्त्रालयले आह्वान गरेको छ । सूचना दिने व्यक्तिको पहिचान भने पूर्णरूपमा गोप्य रहने मन्त्रालयले जनाएको छ ।