काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गर्न लागेको ‘निक इलेक्ट्रो टेक २०२२’ को स्टल बुकिङ खुल्ला गरिएको छ ।
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ऊर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्वान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको हो । ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्धि एवं अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको ऊर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दशौँ संस्करण ‘निक इलेक्ट्रो टेक २०२२’ आगामी मंसिर २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना हुनेछ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्रीहरू, ऊर्जा उत्पादक यन्त्रहरू, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलईडी लाइटिङ फिक्चर्स ट्युब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चारसम्बन्धी उपकरणहरू, सूचना प्रविद्यि, विद्युतीय सवारीसाधन तथा वैकल्पिक ऊर्जा कम्पनीहरू सहभागी हुन सक्नेछन् ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दै छ । प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालका अनुसार स्टल बुकिङ गर्न इच्छिुक कम्पनीहरूले इलेक्ट्रोटेक एट फिन डट ओआरजी डट एनपीमासम्पर्क गरी जानकारी लिन सक्नेछन् ।