दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर तीन खानीगाउँका एक सयभन्दा बढी स्थानीयले पुरानो ठाउँ छाडेर नयाँ ठाउँमा बस्ती बसालेका छन् । २०७२ सालको भूकम्पले सयौँ वर्षदेखि बसोबास गर्दै आएको बस्ती भत्काइदिएपछि उनीहरूले नयाँ ठाउँमा
सरेका हुन् । बैतेश्वर गाउपालिका वडा ३ साबिकको मिर्गे गाविस ३ को एउटा सिङ्गो गाउँ नै गाउँपालिकाको केन्द्रनजिक रहेको खेतमा सरेको हो । भूकम्पपछि सरेको बस्ती पुरानो गाउँदेखि करिब साढे दुई किलोमिटर टाढा खोलापारि रहेको छ । भूकम्पले गाउँ पूर्णरूपमा ध्वस्त भएपछि उक्त ठाउँलाई छाडेर नयाँ ठाउँमा सरेको स्थानीय रामचन्द्र राउतले बताए ।
भूकम्पले पहिरो गएको र पहिला बस्दै आएको ठाउँ जोखिमपूर्ण भएकोले आफूलगायत एक सय २० घर परिवारले खेतमा घर बनाएर बसेको बताए ।
भूकम्पपछि भएका पानीका मुहान सुक्नुको साथै धेरै मानिस सहर केन्द्रित भएको हुँदा गाउँलाई वनजङ्गलले छेकेर उत्पादन हुन छाडेकाले आफूले खेतमै बसोबास सुरु गरेको स्थानीय हरि सुवेदीले बताए । गाउँका केही स्थानीयले भने गाउँपालिकाको केन्द्रनजिक आफ्नो खेत रहेको हुँदा बसाइ सरेको बताएका छन् । उत्पादन र सुविधाको हिसाबले गाउँपालिकाको केन्द्रनजिक आफ्नो खेत रहेको हँुदा आफूहरूले खेतमा घर सारेको स्थानीय सेते राउतले बताए ।
हालसम्म नयाँ ठाउँमा एक सय ५० घर निर्माण भइसकेका छन् भने बाँकी केही घर निर्माण हुने प्रकृयामा रहेका छन् । त्यसैगरी सोही गाउँपालिकाको वडा नं ६ नाम्दु वनगाउँ र घिमिरे टारका केही स्थानीयले पनि पुरानो गाउँ छाडेर नयाँ ठाउँमा बस्ती बसेका छन् ।