काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले विभिन्न ४० खर्ब नौ अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
यसरी प्रवाह भएको कुल कर्जा रकममध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम भने ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेको छ । यीबाहेक विकास बैंकहरुले चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख र फाइनान्स कम्पनीहरुले ८६ अर्ब ३० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जामध्ये सबैभन्दा बढी कर्जा भने होम लोन र रियलस्टेट क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले आव २०७८÷०७९ मा होमलोन र रियलस्टेट क्षेत्रमा मात्र पाँच खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।
जसमध्ये होमलोन शीर्षकमा तीन खर्ब ३७ अर्ब ७९ करोड ९० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब २८ अर्ब २५ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यीबाहेक सेयर धितो अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा ८० अर्ब ५० करोड ८० लाख, आयातनिर्यातमा ७८ अर्ब ४३ करोड २० लाख र सवारीसाधनमा एक खर्ब ५७ अर्ब १६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र भने होम लोन र रियलस्टेट क्षेत्रमा चार खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । जसमध्ये होमलोन शीर्षकमा दुई खर्ब ७९ अर्ब १० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेट क्षेत्रमा एक खर्ब ९९ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यीबाहेक सेयर धितो, आयात निर्यात र सवारीसाधन शीर्षकमा भने वाणिज्य बैंकहरुले क्रमशः ६४ अर्ब ८१ करोड ९० लाख, ७८ अर्ब ३८ करोड ९० लाख र एक खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले भने आव २०७८÷०७९ होमलोन र रियलस्टेट क्षेत्रमा झण्डै ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
जसमध्ये होम लोनअन्तर्गत ४८ अर्ब ७० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेटमा १८ अर्ब ७१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यीबाहेक मार्जिन लेन्डिङ, आयातनिर्यात र सवारीसाधन शीर्षकमा भने विकास बैंकहरुले क्रमशः ११ अर्ब ७७ करोड ३० लाख, चार करोड ३० लाख र २१ अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
फाइनान्स कम्पनीहरुले भने आव २०७८÷०७९ मा होमलोन र रियलस्टेट क्षेत्रमा झण्डै २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये होमलोनअन्तर्गत नौ अर्ब ९८ करोड ८० लाख र रियलस्टेटअन्तर्गत नौ अर्ब ८९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यीबाहेक मार्जिन लेण्डिङ र सवारीसाधन शीर्षकमा भने फाइनान्स कम्पनीहरुले चार अर्ब ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।आर्थिक दैनिक