काठमाण्डौं,फागुन १५
नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक तथा नेपाल सरकारका पूर्वसचिव धरणीधर खतिवडालाई नेपाल नेत्रज्योति संघ, धनकुटाले सम्मान गरेको छ । खतिवडाले सेवा अवधिमा धनकुटामा रहेको बेलामा परोपकारी काममा महत्वपूर्ण योगदान गरेको भन्दै संघले सम्मान गरेको हो ।
नेपालमा अन्धोपन निवारण गर्ने महान अभियानमा समर्पित संस्था नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको भवन निर्माण गर्ने कार्यमा आर्थिक सहयोग जुटाई अस्पतालको सेवा प्रवाह गर्ने कार्यमा खतिवडाको योगदानको उच्च कदर गर्दै संघको ११औँ साधारणसभाका अवसरमा सो सम्मानपत्र प्रदान गरिएको हो । उक्त सम्मानपत्र खतिवडालाई नेपाल नेत्रज्योति संघ धनकुटाका सभापति रोशेष श्रेष्ठ र केन्द्रीय अध्यक्ष प्रा.डा.चेतराज पन्तले बुधबार हस्तान्तरण गरेका हुन् ।