काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही भदौ १५ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँमध्येबाट ३६ प्रतिशतको अनुपातमा तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री गरिने कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् १९ हजार छ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्नेछ । अधिकृत पुँजी २० करोड तथा जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।